उहाँसँग भेट भएको थियो बि एड शिक्षक तालिममा। अरु विध्यार्थीभन्दा धेरै उत्साहित देखिनु हुन्थ्यो। तालिमको शुरुमा कक्षा भरिभराउ थियो। अन्तिम दिनसम्म आइपुग्दा थोरै भैसकेको थियो। तर पनि सिकाइ उपलब्धिमूलक र रमाइलो रह्यो।
छुट्टिने बेलामा भन्नुभयो: यसो भेटघाट हुनु पर्छ है!
हाँसेर भनें: भैहाल्छ नि, सपनाज्यू !
***
भेट्घाट हुँदा बि एड को परीक्षा सकेर पनि नतिजा आइसकेको थियो। उहाँ नजिकैको जिल्लाबाट काठ्माडौंमा पढाइको लागि आउनुभएको रहेछ। गाउँमा परिवार खेती किसानी मै निर्भर। परिवारमाआफू नै अलि जान्नेसुन्ने र जिम्मेवार व्यक्ती। त्यही भएर सोधें:
म: अब गाउँमै गएर कुनै बिद्यालयमा पढाउने त होला नि!
उहाँ: भनेको त त्यही हो।
म: अनि भैहाल्छ नि! आफ्नो ठाउँमा पनि केही योगदान दिनुपर्यो नि।
उहाँ: हुन त हो। खै के गर्ने?
म: किन?
उहाँ: गाह्रो होला कि? यतै कतै यसो अल्झिन पाए हुन्थ्यो।
म: अल्झिने? के मा?
जवाफमा मुसुक्क हाँसिन्। मैले केही बुझेँ, केही बुझिनँ। जति बुझें, त्यसको प्रत्युत्तर दिएँ: त्यसोभए कहिं काम छ भने भनिदिन्छु। इन्टर्न्शिप भए नि हुन्छ? उहाँले टाउको मात्र हल्लाउनुभयो।
***
अर्कोपल्ट भेटघाट हुँदा इन्टर्न्शिप चलिराखेको थियो। केही सामाजिक सेवा पनि गर्नु भयो। इन्टर्न्शिप पनि सजिलै थियो। खासै काम पनि थिएन। मेरो अफिसमा बेला बेलामा आइरहनु हुन्थ्यो। कहिलेकाहीँ धेरै दिन देखिनु हुन्नथ्यो र म फोन गर्थें । “म त रुघा लागेर आराम गर्दैछु,” भन्नुहुन्थ्यो। त्यही भएर होला सँधै तातो पानी बोकेर हिंड्नुहुन्थ्यो। यहि अन्तरालमा तीन-चार पल्ट भेटघाट भयो।
***
त्यसपछी लगभग तीन-चार महिना भेटघाट भएन । म पनि अलि व्यस्त भएँ । अफिस बाहिरै हुन्थें। उहाँको फोन पनि आएन। फेरि बिरामी पो हुनु भयो कि भनेर एकदिन फोन लगाए। केही रिङपछी उठाउनु भयो।
“ए, तपाईं पो, सन्चै हुनुहुन्छ?”
म: ठिकै छुँ। तपाईंको केही खबर आएन। त्यही भएर फोन गरेको।
उहाँ: म त ठिकै छु। हेर्नुस् न, आउनै पाइनँ। अफिसतिर कस्तो छ नि?
म: राम्रै छ। अनि के गर्दै हो आजकल?
उहाँ: इन्टर्न्शिप पनि सकिगो। खासै राम्रो जब पनि पाइएको होइन।
म: पाइएला नि। अनि गाउँ जानू भएन? भेटौं न समय मिलाएर!
उहाँ: जान पाको छैन। तर अहिले भक्तपुरमा छु नि म!
म: भेटौं न समय मिलाएर!
उहाँ: भेट्न त हुन्थ्यो। हेर्नुस न, मैले त बिहे गरें नि! अक्मकाउँदै भन्नुभयो।
म: ए, हो र? कहिले नि?
उहाँ: महिना दिन भयो। इन्टरकास्ट हो। यहिंको लोकल नेवारसँग।
***
जीवन अल्झिनुमा पक्कै छैन, न त अल्मलिनुमा। जीवन गतिशील छ। त्यो गतिलाई बुझ्नु अनि आफ्नो गन्तब्यको पहिचान गर्नु नै बुद्धिमत्ता होला। अनि मात्र जीवनले सार्थकता हासिल गर्नतिर उन्मुख हुनेछ।
You must log in to post a comment.