कुरा गरौं एउटा बच्चा र जिन्दगीको । जुनसुकै बच्चाले पनि जन्मिदै हिँड्न सिकेको हुँदैन । उसले आफ्नो आमाबुबाहरू हिडेको देखेको हुन्छ । त्यसैले होला उसलाई पनि हिँड्न मन लाग्छ । तर, उसले हिँड्न त के उभिन पनि जानेको हुँदैन। उसले सोच्छ होला कि म जसरी पनि हिँड्नु त पर्छ नै अथवा यो सोच्छ होला कि मैले बामे सरेर भए पनि हिँड्नु पर्छ। ऊ खुसी थाल्छ घरभित्रै एक कुनाबाट अर्को कुनामा पुग्दा पनि । अनि उसले आफै विचार गर्न थाल्छ होला कि अरु खुट्टा मात्रै टेकेर हिँड्छन् म चै हात र खुट्टै दुइटै टेकेर किन हिँडिरहेकी छु । त्यसपछि उसले केही दिनपछि हातले भित्ताकाे सहारा लिएर खुट्टाले मात्रै हिँड्न थाल्छ । उभिन खोज्छ लड्दा पनि उभिनै खोज्छ। जतिपटक लड्दा पनि उभिनै खोज्छ। यतिन्जेल उसले अझै हिँड्न सकेको हुँदैन ।
यसरी कैयौं प्रयास पछि आमाबाबुको साहरा बिना ऊ आफैं हिँड्न सफल हुन्छ। यसपटकको सफलता उसको लागि धेरै ठूलो हुन्छ। ऊ बिना सहारा दुई खुट्टाले हिँड्न सफल हुन्छ । अब उसले देख्छ यताउता घरको वरिपरिका उसका दाईहरू, दिदिहरू छरछिमेकिहरू कुदिरहेका हुन्छन् तर उसले बल्ल हिँड्न सिकेको हुन्छ। अब ऊ उनीहरूलाई देखेर उनीहरूकै तालमा कुद्न खोज्छ तर लड्छ फेरि कुद्न खोज्छ फेरि लड्छ । यसपटक लड्दा उसलाई घाउ चोट पनि लाग्छ किनकि पहिला जतिपटक लडेपनि घरभित्रै लड्थ्याे, ढुङ्गामाटो केही थिएनन् त्यसैले उसलाई चोट लाग्दैनथ्याे। उसको यसपटकको सफलता अरुबेला भन्दा धेरै नै ठूलो थियो । त्यसैले चोटहरू जति आए पनि उसले हार मानेन । लड्दै उठ्दै, लड्दै उठ्दै गर्दा कुद्न पनि सफल भयो । अब उसले आकाशमा चरालाइ उडेको देख्छ ऊ पनि उड्न खाेज्छ तर घरमा गाउँमा कतै पनि संसारमा कोहि पनि उडेका नदेखेको उसले सोध्छ कि हामी उड्न मिल्दैन त्यो बेला मान्छेहरूले उसलाई भन्छन्- “पागल जस्तो कुरा नगर । तिनीहरू चरा हुन त्यही भएर उड्छन्। हामी मान्छे हौँ । हामी उड्न सक्दैनौं ।”
जिन्दगी पनि त त्यही बच्चाको हिँडाइ जस्तै त हो नि, होइन र ?
यदि त्यो बच्चाले बामे सर्दै गर्दा “बुबाआमाहरू ठूला हुनुहुन्छ त्यही भएर हिँड्नुहुन्छ म सानो छु हिँड्न सक्दिन।” भन्ने सोचेको भए के आज ऊ हिँड्न सक्थ्यो ? कुद्न सक्थ्यो? अहँ सक्दैनथ्यो । हामीहरूलाई बच्चैदेखि यहि त सिकाउँदै आइएको छ । कोहि बच्चाले म ठूलो भएपछि धेरै पैसा कमाउँछु । सफल हुन्छु भन्यो भने नहुने सपना नदेख भनिन्छ किनकि हाम्रो वरिपरि कोहि पनि त्यसरी सफल भएका हुदैनन् । तर त्यो बच्चालाई उसले चरा देखेर उड्ने चाहना गर्दा उसको आमाबुबाले उड्ने हौसला दिएको भए के हुन्थ्यो होला है ? त्यो बच्चा सानै छँदादेखि उसको दिमागमा ठूलो सपना देख्न ठूलो सोच राख्ने मानसिकता पसेको भए के आज ऊ दस पन्ध्र हजारको जागिरको लागि दिनको १०-१२ घन्टा अर्काकोमा काम गर्न जानू पर्थ्यो ? उसले कुनै सिर्जनात्मक कुरा गर्दा हो छोरा, हो छोरी यो सम्भव छ भनेर हौसला दिएको भए कस्तो हुन्थ्यो होला है !
यदि त्यो बच्चाले हिँड्न डुल्न सिक्नुको साटो कसरी हिँड्ने भनेर वर्ष दिन लगाएर घोकेको भए के ऊ हिँड्न कुद्न सक्थ्यो त ?
अहिले यहि त भएको छ हाम्रो अवस्था । हामीले अहिलेसम्म के सिक्यौ त ? त्यही बच्चा बेलामा बोल्न , हिँड्न र कुद्न त हो नि । त्यो पनि अहिले जे मन लायो त्यही बोल्छौँ , कतिलाइ गाली गर्छौँ , यहाँ कतिजना छन् दिनमा कैयौंपटक छाडा बोल्छन् । बोल्न सिकेर शब्द उच्चारण गर्न त सिक्यौ तर के बोल्ने कसरी बोल्ने भनेर कहिल्यै सिकेनौ तर नराम्रो बोल्न र नराम्रो भन्न त कति सजिलै सिक्यौँ नि।
You must log in to post a comment.