भोलि भनिने एउटा भ्रम

साँच्चै भन्ने हो भने उनको नाम उनीजत्तिकै सुन्दर थियो । बुद्धिमान् र चञ्चल उनी भर्खरकी विद्यार्थी थिइन् । उनको मुहार रेनेशाँ कलाका चित्रहरूका मरियमको जस्तै देखिन्थ्यो– फरक यत्ति थियो, उनीभित्रको जीवन्ततालाई भने छुन सकिन्थ्यो । उनका बालसुलभ व्यवहार र परिपक्व हाउभाउ देख्ता जोकोही पनि भुतुक्कै हुन्थ्यो । सम्भवतः उनलाई यो कुराको हेक्का थियो । जब कुनै केटाले उनलाई फर्कीफर्की हेथ्र्यो, उनी एकदम रिसाउँथिन् र सोध्थिन्– “आखिर यी मान्छेले मबाट खोजेको के हो ?”

जब तपाईंहरू दुई जना मात्र हुनुहुन्थ्यो, उनले तपाईंको ज्ञानकोे प्रशंसा गर्थिन् र त्यसैले तपाईंप्रति आफ्नो आदर रहेको कुरा बताउँथिन् । “तपाईं त पूर्वका मनीषि नै हुनुहुन्छ,” उनी बारम्बार भन्ने गर्थिन्– “तपाईंलाई भेट्ने अवसर पाएकामा म आफूलाई धन्य ठान्छु ।” उनी चाहन्थिन् तपाईं उनलाई पूर्वीय दर्शन तथा जीवनपद्धतिका बारेमा विस्तारमा बताइदिनुहोस् अनि ध्यानविधि पनि सिकाइदिनुहोस् । तर त्यसका लागि उनीसँग समय कहिल्यै भएन ।

उनी भन्थिन्– “म तपाईंलाई आफ्ना साथीहरूसँग परिचय गराउन चाहन्छु ।” तर उनले तपाईंलाई सचेत गराउँथिन्– “मलाई मेरा साथीहरूका आधारमा मूल्याङ्कनचाहिँ नगर्नू नि है ! मेरा साथीहरू फरकफरक पृष्ठभूमिका छन् र तिनका रुचि पनि अनेक खालका छन् । तर थाहा छ, म चाहिँ त्यस्तो भेदभाव राख्तिन ।” लाग्थ्यो उनी त्यो विविधताको केन्द्रविन्दू हुनमा रमाउँथिन् । तपाईंलाई भने कौतुहल लागिरहन्थ्यो– उनले तपाईंलाई पनि आफ्नो त्यस सङ्ग्रहमा सम्मिलित गरेकी छन् कि भनेर । वा सायद तपाईंलाई एक अभिन्न साथीका रूपमा पाएरै उनी खुसी थिइन् ?

उनले अडान राख्थिन्, तपाईं नै एक मात्र त्यस्तो विश्वासपात्र हुनुहुन्छ जससँग उनी आफ्ना प्रेमप्रसङ्गका बारेमा खुल्न सक्छिन् । उनी आफ्नो सपनाको राजकुमार सुन्दर र बुद्धिमान् दुवै होस् भन्ने चाहन्थिन् । उनी भन्थिन्– “म चाहन्छु उसले ममा कुनै त्यस्तो रोमान्च पैदा गरोस्, त्यस्तो तरङ्ग ल्याओस् र मलाई आफ्नो प्रेमले वशिभूत पारोस् । मलाई लाग्छ छिट्टै नै मैले त्यस्तो मान्छेलाई भेट्नेछु ।” यस्तो लाग्थ्यो, त्यही व्यक्तिले नै आफूमा प्राण भरोस् भन्ने उनी चाहन्थिन् । केही हप्तापछि उनी मकहाँ आउँथिन् र गुनासो पोख्थिन्– “यसपालि पनि हावा खायो । हुनत ऊ मेरा लागि ठ्याक्कै मिल्ने जस्तो थियो तर खै किन हो ऊ पनि गयो । आखिर ममा के नै खराबी छ, भन त ?” उही निर्दोशपनाका साथ उनी सोध्थिन् ।

हाम्रो भेटघाट हुँदा उनी आफ्ना बुबाका बारेमा कुरा गरिरहन्थिन् । आफ्ना बुबाप्रति उनको निकै सम्मान झल्किन्थ्यो । जब उनी आफ्ना बुबाका विषयमा कुरा गर्थिन्, उनका आँखामा एक प्रकारको चहक देखिन्थ्यो । “उहाँ मेरो सबैभन्दा मिल्ने साथी हुनुहुन्छ । हामी आपसमा जुनसुकै विषयमा पनि कुरा गर्छौं, हामीबीच कुरा नहुने कुनै विषय नै छैन ।” उनी मलाई आफ्ना बुबासित भेट गराउन आतुर छु भन्थिन् । “तिमीहरू दुई जना त छिनभरमै घुलमिल हुनेछौ । त्यो दिन छिट्टै आओस्, मलाई त हतारो लागिसक्यो !” तर त्यो अवसर जुट्न निकै मुश्किल देखिन्थ्यो । हुन पनि त्यो दिन कहिल्यै आएन ।

हामी भोलिका तानाबाना बुनेर सपनाका महल चुल्याउँछौँ र वाचाबन्धनका बत्ती बालेर तिनलाई झलमल्ल पार्छौं । अनि हाम्रो दिमागमा उत्कृष्टता प्राप्तिको लहड चल्यो भने त हामी त्यो सर्वोत्तम कुरा, त्यो सर्वोत्तम व्यक्ति अथवा त्यो सर्वोत्तम दिन धूमधामसँग आउने प्रतिक्षा गर्छौं । तर आलुमा लागेको कीराले झैँ त्यो आदर्शले पनि हाम्रो सपनाको महललाई चाँडै नै कुटुकुटु खाइदिन्छ । जब समयको हावा विपरित दिशातिर चल्न थाल्छ, हाम्रा सपनाका महलहरू गल्र्यामगुर्लुम ढल्छन् । हामी रुन्छौँ, दुःखी र निराश हुन्छौँ तर आखिरमा एउटा मीठो दन्ते कथाको तीतोपना मात्र बाँकी रहन्छ ।

तर पनि जीवनरूपी यस नदीको किनारमा हामी काल्पनिक स्वर्गसम्म लैजाने त्यो उत्कृष्ट डुङ्गालाई पर्खेर बसिरहन चाहन्छौँ । अन्ततः त्यो डुङगा कहिल्यै आउँदैन । अनि सयौँ कोश परको मृगतृष्णारूपी महासागर जस्तै हाम्रो स्वर्ग पनि बिलाएर जान्छ । तर वर्तमान भने हामीबाट फुत्केर भूत र भविष्य जोड्ने पुलमुनि पानी झैँ निरन्तर बगिरहेको हुन्छ ।

Kumar R Shrestha Written by:

Working with words is just like describing the colors of a sunset to a visually-impaired, yet there is no option but to insist with loving care.

0 0 vote
Article Rating
0 Comments
Inline Feedbacks
View all comments