डरलाई शत्रु होइन , मित्र बनाऔं

मैले उनलाई पहिलोचोटि देख्दा उनी मेरो ठिक अघिल्तिर बसेकी थिइन् । त्यो कोठा विभिन्न संस्कृति र विभिन्न उमेरका मान्छेहरूले भरिभराउ थियो । प्रायः सबै भुइँमा पलेटी कसेर बसेका थिए र त्यहाँ छलफल भइरहेको विषयमा डुबेका थिए । म धेरै टाढाबाट हिमशिखरहरू नाघेर यस बिरानो सहरमा आइपुगेको थिएँ । त्यही साँझ मेरा साथीहरूले मलाई यो सहरकै प्रसिद्ध यस बौद्ध धर्म केन्द्रमा आउन अनुरोध गरेका थिए ।

उनी असाध्यै उत्साहपूर्ण छिन् भन्ने कुरा उनलाई देख्नासाथ अनुभूत हुन्थ्यो । उनी घरिघरि हात उठाएर वक्तासामू प्रश्न राख्नका लागि प्रतिक्षा गर्थिन् । उनी असाध्यै जिज्ञासु बच्चा जस्तै देखिन्थिन् । म उनको ऊर्जालाई उत्रिँदै उत्रिदैँ सतहसम्म आएर प्वाट्ट फुट्ने बुलबुला झैं अनुभव गरिरहेको थिएँ । उता तिब्बती भिक्षुले भने मन र शून्यतासम्बन्धी आफ्नो प्रवचन दिइरहेकै थिए ।

विस्तारै जब मैले उनलाई अलि राम्ररी चिनेँ, उनले आफ्नी आमाका बारेमा मसँग गहिरो चिन्ता व्यक्त गरिन् । आफ्नो शरीर असाध्यै कमजोर भए पनि उनकी आमा खूब काम गर्थिन् र अनिद्रा तथा अरु ससाना रोगहरूले ग्रस्त थिइन् । उनले आमालाई सम्झाउन सक्दो प्रयास गरेकी थिइन् तर आमाचाहिँ उनको कुरा सुन्दै सुन्दैनथिन् । यस्तैमा एक दिन उनकी आमासँग मेरो भेट भयो । उनी एकदमै मायालु र आत्मीय महिला रहिछन् तर उनीभित्रको थकानलाई देख्दा साँच्चै दुःख लाग्थ्यो । उनी मैले जानेका मध्ये कुनै पनि भाषा बोल्दैनथिन् । तर पनि आपसमा छुट्टै किसिमले सम्वाद गर्न सक्छौँ भन्ने हामीले पत्ता लगायौँ । उनले म कहाँबाट आएको हुँ, के काम गर्छु र परिवारमा कोको छन् भनेर मलाई सोधिन् । मेरो साहस र निडरता देखेर उनी निकै प्रभावित भइन् । उनले सोधिन् — “तिमी आफ्नो देशबाट यति टाढा छौ । तिमीलाई डर लाग्दैन ?”

उनले एक दिन मलाई खान बोलाइन् । उनले आफ्नो देशका रैथाने परिकारहरू बनाएकी थिइन् र मलाई ती मन पर्लान् कि नपर्लान् भनेर दुबिधामा थिइन् । केही बेरपछि आमाछोरी कुरा गर्न थाले । मैले तिनका सबै कुरा बुझिनँ तर आमाचाहिँ एकदमै उदास भएको सहजै बुझ्न सकिन्थ्यो । छोरीचाहिँ एकदमै शान्त थिइन् तर अन्त्यमा आमाचाहिँ एक्कासि रुन पो थालिन् ।

पछि छोरीचाहिँले आफ्नी आमाले आफू बौद्ध दर्शनका पछि लागोस् भन्ने नचाहेको कुरा मलाई बताइन् । उनी यो कुनै खतरनाक सम्प्रदाय होला र त्यसले छोरीको सारा पैसा हडप्ला भनेर तर्सिएकी थिइन् । “तर आज आमाप्रतिको मेरो भाव असाध्यै शान्त छ । मलाई लाग्छ यो तिम्रै उपस्थितिले गर्दा हो,” उनले भनिन् । खाना खाइसकेपछि, मैले आमाचाहिँसँग कुरा गर्न खोजेँ र डराउनु वा चिन्ता गर्नु पर्ने कुनै कुरा छैन भनेर बुझाउन खोजेँ । उनी आफ्ना अडानहरूबाट पटक्कै डेग चल्दिनथिन् तर आज उनीभित्र केही भइरहेको थियो । अनि आखिरमा उनले मलाई अङ्कमाल गरिन् र भनिन्— “मलाई तिमी हाम्रै परिवारका सदस्य जस्तो लागिरहेछ । धन्यवाद छ बाबु तिमीलाई ! ”

हामी आफ्ना भनिने कुराहरू गुमाउनुपर्ला, छोराछोरीहरू गलत बाटामा लाग्लान् अथवा बाबुआमालाई रोगले समात्ला भनेर खूबै डराउँछौँ । टाढा कतै एक्लै रहनुपर्ला भनेर, अथवा आफूले अरूलाई नबुझौँला वा अरूले आफूलाई नबुझ्लान् भनेर हामी डराउँछौँ । हामी आफ्नै वा अरू कसैका अपेक्षा अनुरूप बाँच्न नसकिएला भनेर पनि डराउँछौँ । यसरी जिउने क्रममा डर नै हाम्रो हर क्षणको साथी हुन्छ । तर के हामी त्यसलाई साथी जस्तै व्यवहार गर्छौं त ?

शत्रु भनिने यस डरलाई हामी त उपेक्षा गर्न, लुकाउन अथवा यसबाट बचेर टाढै बस्न खोज्छौँ । हामीले यसलाई कहिल्यै पनि राम्ररी भेटेकै छैनौँ, यसको आँखामा हेरेकै छैनौँ अथवा यसलाई ध्यान दिएर सुनेकै छैनौँ । तर हामीले त्यसो गरेमा मात्रै यसको आसय के रहेछ भनेर थाहा पाउनेछौँ । त्यसपछि मात्र यस तत्त्वले केही न केही गुह्य कुरालाई छर्लङ्ग पार्नेछ । सम्भवतः त्यसपछि मात्र डरले हाम्रो जीवनमा कुनै एकदमै भिन्नै अर्थ राख्नेछ ।

Kumar R Shrestha Written by:

Working with words is just like describing the colors of a sunset to a visually-impaired, yet there is no option but to insist with loving care.

0 0 vote
Article Rating
0 Comments
Inline Feedbacks
View all comments