संयक जीवन अर्थात सन्तुलित जीवनलाई स्वधर्म भनिन्छ । यसलाई शिवपुरीबाबा (स्वामी गोविन्दानन्द भारती) ले अंग्रेजीमा राइट लाइफ भनेर व्याख्या गर्नुभयो । देश काल परिस्थिति पात्र हेरेर शिवपुरी बाबाले स्वधर्मलाई ब्याख्या गर्नुभएको छ जसमा स्वधर्मका प्रमुख दुई अंग भक्ती र विवेक पर्दछन् साथै तिनवटा अनुशासन शारीरिक, नैतिक, आध्यात्मिक भित्र जीवनलाई सरल सहज, प्राकृतिक तरिकाले बिताउने कला पर्दछ । निम्न स्तरिय जीवनलाई मर्यादित बनाउने र उच्च स्तरीय जीवनलाई उपलब्धि मुलक बनाउने अर्थात दुई महत्वपूर्ण जीवन पद्धतीलाई जोड्ने एक सनन् संयक योग वा राजमार्ग स्वधर्म हो ।
निम्न स्तरीय जीवनलाई हाम्रा पहिलेका जन्म जन्मान्तरका कर्मवन्धन, संस्कारले निर्देशित गरेको हुन्छ । दुःख सुख, मान अपमान, लाभ हानी, धन सम्पत्ति ऐश्वर्य जस्ता उच्च स्तरीय जीवन जसमा पुरुस्वार्थ, ध्यान, प्रेम आदि पर्दछन् — यिनलाई उपलब्धिमुलक बनाउन हामीले जीवन निर्वाह गर्न चाहिने सबै यौन, धन, सम्पत्ति, निन्दा, पेशा, संगतीलाई ठीक बनाउनु जरुरी छ । तसर्थ हाम्रा यीनै निम्नस्तरीय जीवनका गतिविधिहरुलाई संयक बनाउदै म को हँु ? कहाँवाट आए ? जस्ता प्रश्नको उत्तर पाउन वा उच्च स्तरीय जीवन उपलब्धिपूर्ण बनाउन स्वधर्मको आवश्यकता परेको हो । स्वधर्ममा स्थापित व्यक्ति एक ब्रह्मज्ञानी हो जो आफ्नो कर्मद्वारा आर्जित अन्न मात्र सेवन गर्दछ । हर सुख दुःखलाई भित्रवाट स्वागत गर्दछ । कर्मलाई कर्तव्य सम्झेर गर्दछ । इच्छा, राग, द्वेष कुनै पनि आकाक्षाले नयाँ कर्मलाई जन्म दिन्छ नयाँ कर्मले नयाँ भाग्य बनाउँछ फेरी नयाँ संस्कार बन्छ यसरी जन्ममृत्युको चक्करमा परिरहनु पर्ने भएकोले सबै कर्मबन्धनवाट पार पाउन ज्ञानी पुरुष भक्तिपुर्वक ईश्वरको शरणमा जान्छ र सम्पूर्ण कर्म कर्तव्य सम्झेर गर्दछ यसकारण स्वधर्म कर्म ज्ञान भक्तिको त्रिवेणी तिर्थ हो । आज हामी यहि कर्म वन्धन अन्तर्गत पर्ने कर्म अकर्म विकर्मको बारेमा सानो चर्चा गरौं ।
कर्म:
शिववुरीबाबाकै शब्दमा कर्म नगरी नहुने कर्तव्य हुन् । आफ्नो पेशाअनुसार २४ सै घण्टा कार्यमा मात्र तल्लिन रहनुलाई कर्म भनिन्छ । यस कारण संसारमा कर्मै बाहेक अरु केहि पनि छैन । कर्म नै पुजा हो कर्मनै भगवान् हो । धन कमाउनु परिवारको पालना गर्नु, सामाजिक नीति नियममा रहनु, देशको ऐन कानूनको पालना गर्नु सबै कर्म हुन् । हामीले सबै कर्मलाई कर्तव्य सम्झेर गर्नुपर्दछ । कर्तव्यवाट भाग्नु विकर्म हुन जान्छ । त्यसैले जीवनवाट भागेर हैन जीवनमा रहेर मर्यादित बनाएर सात्विक जीवन जिउनु पनि एउटा महान तपश्या नै हो । चादै लाभ हानी, दुःख सुख, मान अपमान नै किन नहुन हामीले समभावमा रहेर सबैलाई स्वीकार्नु नै जीवन बोध अर्थात जीवन साक्षात्कार हो । कर्ममा रहँदा बुद्धि सुक्ष्म हुन्छ मन वलियो पवित्र एवं शुद्ध हुन्छ यसरी बलियो मन र स्थिर बुद्धि भएपछि ध्यान पनि स्थिर हुन्छ । त्यसैले ठीक समयमा ठीक तरिकाले आफ्नो कर्म समापन गर्नु नै कर्तव्य हो ।
अकर्म:
शिवपुरी बाबाले अकर्मलाई नगरेपनि हानी वा विगार नहुने काम भन्नु भएो छ । जस्तै सिनेमा हेर्ने । अहिलेको समयमा अत्याधिक मानिस विना काममा टेलिभिजन हेरेर, साथी भाइसंग रमाइलो गरेर, जात्रा मात्रामा हो—हल्ला गरेर विताउँछन् । झनै सञ्चार माध्यमको प्रयोगले, इन्टरनेटको सहजताले हाम्रा ज्ञानेन्द्रिय, कर्मन्द्रियहरुलाई आकर्षित गरेकै छन् । यी आधुनिक संसारका उपकरणसंग पनि आवश्यकता भन्दा बढी समय बिताउनु अकर्म हुन् । आवश्यकता भन्दा बढी समय यस्ता बस्तु, विषय, परिवेशमा रहँदा शक्तिक्षय हुन जान्छ । यसकारण गर्नै पर्ने काम नगर्ने र नगर्नुपर्ने काम गर्ने प्रबृत्ति विकास हुन्छ जब यो वानी बढ्छ तब झनै यसवाट हामी ग्रसित हुन्छौं । छाड्नै नसक्ने अवस्थामा पुग्छौं । देशकाल परिस्थिति हाम्रा संगतीहरु इत्यादि स्वधर्मको लागि उपयुक्त छैन । भोजन देखि लिएर काममा निस्कदा फेरी घरमा पस्दा राती निन्द्रामा समेत तनावमा रहने बानी अहिलेको समयमा देखा पर्दैछ यी सबैलाई सन्तुलित गर्नु, संयक बनाउनु चानचुने कुरा हैन । मनमा वेचैनी बढाउने, शरीरमा भारीपना ल्याउने, शक्ति असन्तुलन पार्ने यसता तत्वहरुलाई आफू अनुकुल बनाएमा मात्र अकर्मवाट बच्न सकिन्छ । यी विषयवाट मुक्त रहनु नै उत्तम छ । एउटा काम सकिए पछि अर्को नथाल्दा सम्मको खाली समय होस वा बाटोमा, बगैंचामा, सामाजिक कार्यमा रहँदा कसरी अकर्मवाट बच्ने यसको लागि व्यक्ति आफैले आफ्नो दैनिकीलाई व्यवस्थित गर्नु आवश्यक छ ।
विकर्म:
विकर्म गरेमा हानी हुने काम जस्तै देशको कानूनले तोकेको भन्दा अरु पेशा गर्ने । चोरी डकैटी, तस्करी भ्रष्टाचार, धुम्रपान, मध्यपान, परस्त्री गमन, लागु पदार्थ व्यापार इत्यादि विकर्मका उदाहरण हुन् । विकर्मवाट आर्जित धनले मन बुद्धिलाई पनि भ्रष्ट पार्ने भएकोले त्यस्ता धनवाट आर्जित अन्न सेवन गर्दा सेवन गर्ने पात्रले पनि निज व्यक्तिको कर्ममा सहभागी हुनुपर्ने भएकोले विवेक प्रयोग गरेर त्यस्ता मान्छेहरुबाट टाढिनुपर्दछ । जसरी गरिब सुदामा किपलीले सुदामा श्रीकृष्ण कहाँ जादा गलत धनवाट आर्जित अन्न निषेध गरिन त्यसैगरी विकर्मवाट आर्जित धन, अन्न वाट बच्नुपर्दछ । यसैको लागि स्वधर्ममा रहन चाहने व्यक्तिले एउटा पेशा अपनाइ त्यसवाट आएको धनले १० प्रतिशत दान गरी अरु सेवन गरेमा उसको बुद्धि ठीक हुन्छ मन बलियो स्थिर हुन्छ भनिएको हो । यी सबै प्रक्रिया पुरा गर्नु आफैमा एक तपश्या हो । संयुक्त जीवनमा रहन व्रत झैं पालना गर्नु आवश्यक छ । शिवपुरीबाबाले विश्वको आढा शताब्दी लामो भ्रमण गरेर सच्चा स्वधर्ममा रहने मानिस ८-१० जना मात्र देखे भन्नु आफैमा गहन छ । भनिन्छ राम्रो काम १०% बनेपनि राम्रै परिणाम आउँछ नराम्रो काम १००% बनेपनि नराम्रै परिणाम आउँछ । विकर्मवाट बच्नु पर्दछ यसको कुनै विकल्प छैन ।
कर्मको गति बुझ्न साहै् गाह्रो छ यसैले श्रीकृष्णले अर्जुनलाई शरणमा आउन भन्नुभयो । अकर्मवाट बच्न, विकर्मवाट टाढा रहन प्रयास गर्दै रहनु पर्दछ । यसको लागि पनि स्वधर्मको शरणमा जानु आवश्यक छ । स्वधर्म सृष्टि भन्दा पहिले नै उत्पत्ति भएकोले यसलाई ईश्वरकै कानून भनिन्छ । स्वधर्ममा स्थापित हुन हर कर्मलाई पुजा झै गति पुरा गरौं तब हामी सबै पुजनीय हुनेछौं ।
Shree Ram Pandey Guest Writer
More https://www.mindbody.com.np/center/gallery/shivapuri-baba
You must log in to post a comment.