नेपालमा चलेका पर्वमध्ये एक पर्व योमरी पुन्हि हो । यो पर्व मनाउन नयाँ चामलको पीठो, नयाँ मास र नयाँ चाकु आवश्यक पर्दछ ।
धान खेती भित्र्याएपछि पुस महिनाको पूर्णिमालाई योमरी पुन्हि भनिन्छ । पीठो मुछी त्रिकोण योमरीभित्र कुनैमा तिल चाकु, कुनैमा पिसिएको मास राखी प्वाल बन्द पारिन्छ । हाँडीमा या अन्य भाँडामा पानी तताई त्यसमाथि प्वाल परेका भाँडामा योमरी राखी पानीको बाफले पकाइन्छ ।
त्यस रातमा टोल, ननी र वहालका बच्चा–बच्चीहरू एकसाथ जम्मा भई घर–घरमा गई योमरी चाडमा यसरी गीत गाएर भेटी माग्ने गर्दछन्
गीत
योमरी चाकू वया दुने हाकू<
व्यूसा माकु मब्यूसा फाकू
व्यूम्ह ल्यासे मव्यूम्ह बूढी कुटी
त्यो सिं त्यो वकासी त्यो
लाटा माटा कुलेचा जुस्ये त्यो ।।
अर्थात्
गुलियो योमरी भित्र छ कालो
दिए हुन्छ मीठो नदिए टर्रो
दिने हुन्छ तरुणी नदिने त बूढिया
चार माना या दुई माना नै होस्
यतिउति जान्दैनांै देऊ भरि–भरि ।
यसरी गीत गाई मागेको योमरी सबै बच्चा–बच्चीहरूले मिलिजुली खाने गर्छन् । भित्र चाकु राखेको योमरीलाई मायो र मास राखेकोलाई वायो भनिन्छ । यी दुवैलाई धान थुपारी राखेका बाटाको बीचमा राखिन्छ । मायोलाई लक्ष्मी र वायोलाई नारायणका रूपमा विधिअनुसार पूजा गरी त्यस रात योमरी खाने गर्दछन् । त्यसले रगत र वीर्य वृद्धि गर्दछ अनि शरीरमा वसन्त देखापर्दछ । त्यस योमरीभित्र रहेको चाकुलाई रज (स्त्री) को रूपमा र मासलाई वीर्य (पुरुष) को रूपमा लिइन्छ ।
चढाएको उक्त योमरी चार दिनपछि झिकी वायो बाबुलाई र मायो आमालाई दिने गरिन्छ । वायो बाबुले र मायो आमाले खाने गर्दछन् । नेवार समुदायमा आमाबाबुलाई लक्ष्मी र नारायणको रूपमा लिने लिइन्छ ।
प्रत्येक नर–नारीका नाइटोमुनि त्रिकोण हुन्छ, जसलाई योनीयन्त्र भनिन्छ । त्यही कोणको पतिरूप योमरी हो । दुई योमरीको मिलन षट्कोणसरि हुन्छ । त्रिकोण योमरीलाई योगशक्तिको रूपमा पनि लिने गरिन्छ
योमरीको वारेमा पनौतीको एउटा कथा यस्तो छ —
कुनै बेला पनौतीमा सुचन्द्र नाम गरेका एकजना मानिस थिए । उनकी एक मात्र पत्नी थिइन् । ती दुवैले मिली धान्यपूर्णिमाका दिन चांमलको पीठोको रोटी बनाइरहेका रहेछन् । उनीहरू कतिको दयालु रहेछन् भनी बुझ्न भनेर मगन्तेको भेषमा कुवेर त्यहाँ गई ठूल्ठूलो स्वरले ‘भोकले मर्न लागें बाबा, भोक लाग्यो । खान नपाएको दसौं दिन भइसक्यो, अब म मर्न लागें ’ भनी कराइरहे । यो सुनेर ती दुवै स्त्री–पुरुषले तल हेर्दा एकजना मगन्ते कराउँदै छटपटाइरहेको देख्छन् । तल झरेर त्यो माग्नेलाई दुवैले समाई माथि लगी ओछ्यानमा राखे ।
सुचन्द्रले हात पल्टाई इसारा गर्दै सोधे, ‘भोक लाग्यो, मर्न आँटे भन्छौ, पूजा गरेको छैन, के गर्ने ?’
‘सबैका आत्मामा भगवान् बसेका छन् । यसलाई ख्वाएपछि लक्ष्मीनारायणको पूजा गरेमा केही फरक पर्दैन । झन् भगवान् खुसी नै होलान् जस्तो लाग्छ’ भनी उनकी स्त्रीले भनिन । ‘तिमीले ठीकै भन्यौ । भावनामा पनि भगवान् हुन्छन् । त्यो पाकेको रोटी ल्याऊ र यसलाई ख्वाऊ’ भनी सुचन्द्रले भने । तात्तातो रोटी ल्याई श्रद्धापूर्वक दुवैले ख्वाएपछि माग्नेको रूपमा आएको कुवेरले आफ्नो रूप देखाई ‘म कुवेर हुँ । तिमी दुवैको भावना देखेर म बडो प्रफुल्ल र प्रभावित भएँ । यसकारण म तिमीहरूलाई आज योमरी पूर्णिमाको दिन चार बाहु भएका नारायण र लक्ष्मीको पूजा गर्ने विधि भन्छु , सुन’ भनी कुवेरले भने । त्रिकोणमा योमरी बनाई त्यसभित्र कुनैमा चाकु र कुनैमा मास हाली बनाउने तरिका र त्यसको विधिविधान सुनाएर कुवेर त्यहीँ अन्तरध्यान भए ।
त्यस पूजाका प्रभावले सुचन्द्र र उनकी स्त्री स्वच्छ, सुन्दर र स्वस्थ हुनुका साथै धन–सम्पत्ति पनि वृद्धि हुँदै गयो । यो कुरा यताउता सर्वत्र फैलिँदै गयो । योमरी पुन्हिको महत्वलाई बुझेर नेवार समुदायले त्यसै समयदेखि योमरी पुन्हिको पूजा गर्ने प्रचलन चलाए ।
साभार:
कान्तिपुर
लेखक: बासु पासा
विस्तृत पुस्तक: www.thequest.org.np/shop/product/kantipur
You must log in to post a comment.