हामीलाई शरीरमा केही भयो भने हामी चिन्ता मान्छौँअनि केही नसोची औषधी खाएर ठिक पार्छौँ । तर आयुर्वेदिक बिज्ञानले के भन्छ भने हामी आफ्नो शरीरको ख्याल आफैँ राखौँ ताकी औषधी खान जरुरत नै नपरोस्। हामीलाई झाडापखाला लाग्ने घाँटी दुख्ने , खोकी लाग्ने किन हो त ? किनकी हाम्रो अस्वस्थ खानपिन ले गर्दा होस या अरु कुनै कारणले हाम्रो पेटमा,घाँटीमा अथवा अरु कुनै अङ्गमा केही खराबी छ । पेटमा केही समस्या भयो भने शरीरले के गर्छ ? झाडापखाला लगाएर पेटमा भएको फोहोर बाहिर फाल्न खोज्छ तर हामी के गर्छौँ, औषधी खाएर त्यसलाइ रोक्न खोज्छौँ ।
यसैगरी हामीले अहिले सुनिरहेका यी बलात्कार , हत्या , तेजाब आक्रमण पनि एउटा समस्या हुन् । हामीलाई रिस उठ्छ यी सब देख्दा अनि हामी भन्छौँ यिनीहरुलाइ फाँसी हुनुपर्छ , जन्मकैद हुनुपर्छ , आदि इत्यादि सोच्छौँ। तर यी मान्छे जो हामिजस्तै छन् उनीहरू बलात्कारी , हत्यारा , तेजाव छ्याप्ने कसरी बने ? कति विद्यार्थीले किन आत्महत्या गरे त त्यो सोच्नमा लाग्दैनौँ। हामीले समाचारमा सुनिरहेका हुन्छौँ, स्कुलमा गृहकार्य नगरेको भन्दै कुट्दा शरीरमा निलडाम भएको , केही समय अगाडि सुन्नमा आएको थियो होमवर्क नगरेको भन्दै बिद्यार्थीको हत्केलामा ब्लेडले काटियो रे !
यस्ता घटना त हजारौँ हुन्छन् तर एक दुईटा कहिलेकाँही सुन्नमा आउँछन्, अनि हामीले सुन्छौँ र छाडिदिन्छौँ । थप्पड हान्नु त सामान्य जस्तै भयो तर त्यही थप्पडले एउटा बालकको कानमा लाग्यो र ऊ अपांग भयो , उसको कानको सुन्ने शक्ति गयो उसलाई स्कुल जान डर लाग्न लाग्यो, आफ्नो शिक्षकहरुसँग घृणा भयो, स्कुल पठाउने आमाबुबाप्रति घृणा जाग्यो, यो पुरै समाजसँग घृणा भयो जसको कारणले गर्दा उक्त बच्चा १०-१५ वर्ष पछि एउटा अपराधी बनेर निस्कियो, कति विद्यार्थी त चिन्तामा परेर आत्महत्या गरे ।
ती शिक्षक जसले विद्यार्थीलाई गृहकार्य नगरेको निउँमा, नपढेको निउँमा सधैँ बिद्यार्थीलाई कुटिरहेका छन् , उनिहरुले आफुलाई अपराधी सोच्दैनन् । हामीले, हाम्रो समाजले जुन अपराधिलाई खराब र आफुलाई सज्जन र राम्रो सोच्छौँ, यहि समाजमा हुर्केको एउटा बच्चा १०-१५ वर्षपछी गएर अपराधी भयो । गल्ती कसको ? उक्त बच्चाको जो हामीजस्तै थियो अथवा हाम्रो र यो समाजको जसले उक्त बच्चाको दिमागमा घृणा भरिदियो जसको कारण उक्त बच्चा अपराधी भयो ? ९०% अपराधीको बाल्यकाल हेर्नुपर्छ ! उनीहरू पनि हामीजस्तै सामान्य थिए तर उनीहरुलाई पनि हाम्रो यहि सज्जन र राम्रो समाजले अपराधी बनाएको थियो ।
आज हामीलाई लामखुट्टेले टोक्यो भने हामी धुप बाल्छौ, मार्छौं तर जुन फोहोरबाट त्यो लामखुट्टे आइरहेको छ त्यो फोहोरलाई सफा गर्नमा लाग्दैनौँ । यसरी त एउटा लामखुट्टे मार्यो भने पनि अरु हजारौँ लामखुट्टे आइरहन्छन् टोक्नलाई । जसरी त्यो लामखुट्टे आउने फोहोर सफा गरिएन, एउटा लामखुट्टे मारेपनी हजारौं लामखुट्टे आइरहन्छन् त्यसरी नै मनको फोहोर सफा गरिएन भने एउटा तेजाव छ्याप्नेलाई जेल हालौँला , एउटा बलात्कारिलाई फाँसी गरौंला तर अरु सयौं बच्चाहरु अपराधी बन्छन् र आइरहन्छन् त्यसैले हाम्रो मनमा रहेको त्यो फोहोर सफा गर्नु जरुरी छ । आजसम्म जस्तो भयो त्यसलाई त हामी बदल्न सक्दैनौँ अलिअलि रोकथाम गरौँला तर आजको केही वर्षपछि अहिलेका बच्चाबच्ची कस्ता भएर निस्कन्छन् त्यो त अवश्य परिवर्तन गर्न सक्छौँ ।
You must log in to post a comment.